इटहरी । हालैको अविरल वर्षाबाट प्रभावित इटहरीका विभिन्न क्षेत्रमा नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले राहत वितरण गरेको छ । इटहरी उपमहानगरपालिका–२ का चार भन्दा बढी र वडा नं. ७ को तीन टोलमा बाढीले क्षति पु¥याएका एक दर्जनभन्दा बढी परिवारलाई रेडक्रस टोलीले घरघरमै पुगेर राहत वितरण गरेको हो । बाढीबाट घर र खाद्यान्न नष्ट भएका विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहितका राहत सामग्री वितरण गरिएको रेडक्रस इटहरी उपशाखाका अध्यक्ष दिनेश भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार, इटहरीका कमजोर आर्थिक अवस्थाका नागरिकलाई सहयोग गर्दै जाने हाम्रो अभियान निरन्तर रहने बताउनुभयो । रेडक्रसका पदाधिकारीहरूको सक्रियतामा गरिएको उक्त राहत वितरण कार्यक्रममा स्थानीय बासिन्दाले प्रसंशा व्यक्त गरेका छन् । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले विगत देखि नै शव वाहन सेवा, रक्तदान तथा रक्त उपलब्धता, एम्बुलेन्स सेवा, निःशुल्क स्वास्थ्य शिविर लगायतका सामाजिक सेवाहरू गर्दै आएको छ ।


