इटहरी । एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा सुन्दरहरैंचा नगरपालिका वार्ड नम्बर १० मा अवस्थित हिमालय इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नुभएको छ । सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्डद्वारा सम्मानित गरिएको हो । उहाँले विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम संचालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेसनद्वारा आयोजित मलेसियाको कलालम्पुरको लिनकन युनिभर्सिटीबाट अवार्ड प्राप्त गर्नुभएको हो । कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, युएसए, युके, इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरुलाई इन्टरनेसनल एक्सिलेन्स अवार्डद्वारा सम्मान गरिएको छ । अवार्ड प्राप्त गरेपछि खनालले आगामी दिनहरुमा बिद्यालयलाई थप उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


