इटहरी । लेटाङ नगरपालिका र लेटाङ नगर भलिबल क्लबको संयुक्त आयोजनामा आयोजित कोशी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिता अन्तरर्गत पहिलो दिन पुरुषतर्फ ३ र महिलातर्फ २ गरि ५ वटा खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा पुरुषतर्फ आयोजक लेटाङले मिक्लाजुङलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ भने उर्लाबारीले रतुवामाईलाई र इटहरीले झापालाई हराएका छन् । त्यस्तै, महिलातर्फ दमकले पथरीलाई पराजित गरेको छ भने केपिलासगढी (खोटाङ) ले आयोजक लेटाङ–‘बि’ लाई हराउँदै अघिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

आजदेखि सुरु भएर असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा २४ टिम सहभागी छन् । जसमा १६ टिम पुरुष र ८ टिम महिलातर्फ रहेका छन् । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ प्रथम हुन टीमले नगद १ लाख र दोश्रो हुने टीमले नगद ५० हजार पुरस्कार र ट्रफि हात पार्नेछन् । प्रतियोगिताको उद्घाटन लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले गर्नुभयो ।

उद्घाटन मन्तव्य राख्दै उहाँले खेलकुदले युवाहरूमा अनुशासन, एकता र नेतृत्व क्षमता विकास गर्न सहयोग पु¥याउने बताउनुभयो । लेटाङ नगर भलिबल क्लबका अध्यक्ष ललितबहादुर लिम्बूको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख कृष्णकुमारी पोख्रेल निरौला, लेटाङ–४ का वडाअध्यक्ष रामकुमार श्रेष्ठ, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत आतिथ्यता रहेको थियो ।