वराहक्षेत्र । वराहक्षेत्रमा चाडबाड लक्षित गरेर नगर क्षेत्रका पसलमा नरपालिकाले अनुगमन गर्न कार्यलाई निरन्तर गरि राखेको छ । वराहक्षेत्र नगरपालिकाले नियमित अभियान अन्तर्गत  नगर क्षेत्रमा बजार अनुगमनलाई निरन्तरता दिएको हो  । उपभोक्ताहरुको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयहरूमा मङलवार वराहक्षेत्र नगरपालिका वडा नं ९ राजावास बजारका पसलहरु र वडा नं १० को प्रकासपुर बजारमा रहेका  पसलहरूमा नगरपालिकाले अनुगमन गरेको हो।

अनुगमन टोलीले होटल , किराना पसल, फलफूल पसल, मिठाई पसल , हाडवयर पसल अनुगमन गरेको  तिवारीले जानकारी दिए । अनुगमनको क्रममा अधिक मात्रामा म्याद नाघेका चिसो पदार्थ भेटिएको छ । अनुगमनमा भेटिएको म्याद नाघेको चिसो पदार्थलाई नष्ट गरिएको थियो । अनुगमनको क्रममा  म्याद नाघेका सामग्री नष्ट र म्याद नाघेका सामाग्री बिक्री गर्न राखेका पसललाई सचेतना, दर्ता प्रकृया , किचन क्षेत्रमा अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरू सचेतना,  ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलालाई नियन्त्रणमा लिईएको नगर उपप्रमुख नन्दकुमारी सुनुवारले बताइन ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा सुनसरीका खाद्य अनुसन्धान अधिकृत उज्वल कोईरला , उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका प्रतिनिधि , नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो।