काठमाण्डौ । सगरमाथाको शिखरमा पहिलो मानव पाइला पुर्‍याउने अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको निधन भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ३ नाम्चेका शेर्पाको गएराति निधन भएको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । ९२ वर्षका शेर्पा केही महिनादेखि काठमाण्डौमा उपचाररत हुनुहन्थ्यो । सङ्घले मृतक शेर्पाप्रति श्रदाञ्जली दिँदै उहाँको जीवन साहस, धैर्यता र इतिहास निर्माण गर्ने योगदानको प्रतीक रहिररहने उल्लेख गरेको छ । सन् १९५३ को मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी विश्वको सर्वोच्च शिखर सगरमाथामाको शिखरमा पुग्नुभएको थियो । त्यस बेला आधार शिविरभन्दा माथि बाटो पहिल्याउन आरोहीहरूसहित ३५ जना खटिएकामा शेर्पा पनि एक हुनुहुन्थ्यो । त्यति बेला २० वर्षका कान्छा शेर्पासहित अरू दुई जना शेर्पाले आधार शिविरदेखि चौथो शिविरसम्म बाटो खोज्न सक्रियता देखाएका उहाँले यसअघि उज्यालोसँग बताउनुभएको थियो । उहाँका अनुसार आरोहणका लागि भक्तपुरबाट चार सय भरिया र ३५ जना आरोहण दल अघि बढेकोमा नाम्चेबाट जोक्पेलाई भारी बोकाएकोले धेरैजसो भरिया फर्किएका थिए । मृतक कान्छा शेर्पाको आउँदो आइतवार अन्त्येष्टि गर्ने नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।