इटहरी । नेपाली सेनाको पूर्वी पृतनाले सञ्चारकर्मीका लागि आयोजना गरेको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गत असोज २७ गतेदेखि पूर्वी पृतना मुख्यालय इटहरीमा सुरु भएको अभिमुखीकरण तालिममा कोशी प्रदेशअन्तर्गत १४ जिल्लाका २३ जना सञ्चारकर्मीको सहभागिता थियो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै पृतनापति उपरथी गौरवकुमार केसीले नेपाली सेनाले खेलकुद, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, उद्धार तथा पुनःस्थापनासम्मका विविध क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताए। उपरथी केसीले अभिमुखी कार्यक्रमबाट नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी र राष्ट्रिय भूमिकाबारे थप ज्ञान र सन्तुलित दृष्टिकोण विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। चारदिने अभिमुखीकरण तालिममा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिका, सेनाको तैनाथी तथा शान्ति स्थापना कार्य, विकास, निर्माणमा योगदान, अभिलेखीकरण प्रणालीको प्रयोग, प्रभावकारिता र चुनौती, विपद् प्रतिकार्य, जैविक विविधता, वातावरणीय सन्तुलन, स्थानीय समुदायसँगको सहकार्यलगायतका क्षेत्रमा नेपाली सेनाले पुर्‍याउँदै आएको भूमिकाका विषयमा जानकारी गराइएको थियो । सो अवसरमा नेपाली सेनाका विभिन्न कार्यक्रम तथा गतिविधिलगायतका विषयलाई प्रचारप्रसार गर्न सहयोग पुर्याएको भन्दै १३ वटा सामुदायिक रेडियो स्टेसनहरूलाई सम्मान गरिएको थियो ।