काठमाडौँ । नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा २२ जना प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको जनाएको छ। सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाका अनुसार मृतकमध्ये ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना रहेका छन्।

सेनाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आन्दोलन ४८४ स्थानमा फैलिएको जनाएको छ। आन्दोलनका क्रममा ६८८ वटा सरकारी कार्यालय, २५९ निजी घर, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका कार्यालय र ३०७ प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको रिपोर्टमा उल्लेख छ।

आन्दोलनकै बेला १५ हजार ५८८ जना कैदीबन्दी फरार भएकामा हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको सेनाले जनाएको छ। त्यसैगरी हराएका ९७८ थान हतियारमध्ये ५८६ वटा फिर्ता गरिएको पनि सेनाको रिपोर्टमा उल्लेख गरिएको छ।