इटहरी । इलाका प्रहरी कार्यालय पकली, सुनसरीको पुनर्निर्माण तथा संरक्षण समितिले शनिबार एक कार्यक्रमका बीच आफ्नो आय–व्यय विवरण सार्वजनिक गरेको छ । जेन्जी समूहद्वारा भ्रष्टाचारविरुद्ध गरिएको आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीबाट क्षति पुगेको भवन पुनःनिमार्ण गरिएको थियो । कार्यक्रममा समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेतले आगजनी पश्चात् सुरक्षाको आवश्यकता महसुस गर्दै स्थानीय बासिन्दाको पहलमा पुनर्निर्माण समिति गठन गरी काम सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार सो कार्यमा पकली क्षेत्रमा रहेका ९ सय ८५ घरधुरी, अन्य व्यक्ति गरी १ हजार २ जना स्थानीयवासी र १३ वटा संस्थाले स्वस्फूर्त रूपमा सहयोग गरेका छन् । इलाका प्रहरी कार्यालय पकलिका प्रहरी निरीक्षक लेखनाथ दाहालले प्रहरी र समुदायबीचको सहकार्य नै शान्ति–सुरक्षाको आधार भएको बताउँदै समितिको पहल सराहनीय रहेको उल्लेख गर्नुभयो । समितिका कोषाध्यक्ष भिम लुइँटेलले हालसम्म १३ लाख ९३ हजार ४ सय २४ रुपैयाँ नगद संकलन भएको र १३ लाख ९८ हजार ८७ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार करिब पाँच हजार रुपैयाँ बढी खर्च भएको रकम समिति आफैंले व्यहोर्ने निर्णय गरिएको छ । उहाँले नगद बाहेक दाताबाट प्राप्त जिन्सी सामग्री समेत प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । कार्यक्रममा विरेन्द्र राई, तेजबहादुर परीयार लगायतले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले समितिका पदाधिकारीसँग विभिन्न प्रश्न सोधेका थिए भने पदाधिकारीहरूले सोधिएका प्रश्नहरूको विस्तृत उत्तर दिएका थिए ।


