इटहरी । मोरङको पथरी शनिश्चरे २ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार पथरी शनिश्चरे वडा नं १ को नर्वदेश्वर शिवालयको सभा हलमा सो संस्थाको चुनावी साधारण सभा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष धन राज राई ’अमीर ’को अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८१÷०८२ मा २ करोड ७४ लाख ९२ हजार ३ सय ६४  रूपैयाँ कुल आम्दानी भएको जानकारी गराइएको थियो । संस्थाको शेयर पूँजी २ करोड ७६ लाख २ हजार ५ सय रुपैयाँ पुगेको बताइएको छ । साधारण सभामा संस्थाका सचिव महेन्द्र ढुंगानाले आव २०८१÷०८२ को वार्षिक कार्य प्रगति विवरण र आर्थिक वर्ष २०८२÷०८३ को लागि ३८ करोड रुपैयाँ बराबरको प्रस्तावित वार्षिक कार्य योजना प्रस्तुत गर्नुभएको थियो। सभामा प्रमुख अतिथि पथरी शनिश्चरे वडा नं २ को वडा अध्यक्ष नैना साम्पाङ राईले नेपाल सरकारले सहकारी सम्बन्धी ल्याएको नयाँ नियमावली अनुसार र पथरी शनिश्चरे नगरपालिकाको सहकारी विधान समिति संयोजकको नाताले नगरभित्र रहेका सबै सहकारी संस्थाहरूलाई नियमन ऐन र नियम निर्माण गरिएको उल्लेख गर्नुभयो। सभामा जेष्ठ सदस्य जन्मोत्सव तथा पेन्सन  भत्ता वितरण, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलाई  पनि  पुरस्कृत गरिएको थियो। सभाबाट लर्ड बुद्ध साकोसको आगामी ४ वर्षे कार्यकाल रहने संचालक समितिको अध्यक्ष पदमा दोर्ण बहादुर खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । नवगठित समितिको उपाध्यक्षमा कुमारी शाही, सचिवमा प्रतिमान राई, सहसचिवमा बालकुमारी तामाङ, कोषाध्यक्षमा योगेन्द्र भण्डारी, सदस्यहरूमा क्रमशः कृष्णप्रसाद निरौला, भीमप्रसाद भेटवाल, पवित्रा चौलागाईं ,रिना राई रहेका छन् । लेखा समितिको सुपरिवेक्षक संयोजकमा भोजराज चौहान चयन हुनुभएको छ । संस्थामा हाल ३६ सय २४ जना कुल शेयर सदस्य रहेका छन् ।