इटहरी । मोरङको सुन्दरहरैंचा – ३ गछियामा रहेको साथी कम्प्युटर लर्निङ सेन्टरले आफ्नै संस्थामा अध्ययनरत विद्यार्थीहरूबीच रोचक क्विज प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरण समूहगत र दोस्रो चरण व्यक्तिगत प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिएको थियो। समूहगत प्रतियोगितामा ६ वटा समूह सहभागी थिए, जसमा प्रत्येक समूहमा ३ जना विद्यार्थी रहेका थिए । पहिलो चरणमा समूहगत रूपमा प्रतिस्पर्धा हुँदा समूह सी प्रथम, समूह ई दोस्रो तथा समूह ए ले तेस्रो स्थान हासिल गर्न सफल भएको साथी कम्प्युटर लर्निङ सेन्टरका प्रमुख निरन्जन प्रसाद आचार्यले जानकारी दिनुभयो । विजेता समूह सी बाट प्रथम हुने बिजय विश्वकर्मा, रोहित पराजुली र तुलसा आचार्यलाई नगद ३ हजार,प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो। दोस्रो हुने समूह ई ब्रिन्दा बास्तोला, दिपिका खड्का र यमिमा भट्टराईलाई नगद २ हजार ट्रफी र प्रमाणपत्र प्रधान गरिएको थियो भने तेस्रो हुने समूह ए लाई पनि नगद १ हजार ट्रफी र प्रमाणपत्र प्रदान गरिएको प्रमुख आचार्यले बताउनुभयो । अत्यन्तै कडा प्रतिस्पर्धा रहेको र समूहहरूबीचको फरक मात्र ५ देखि १० अंकको रहेको थियो। पहिलो चरणमा उत्कृष्ठ प्रदर्शन गरेका समूह सी र ई का विद्यार्थीहरूले व्यक्तिगत रूपमा दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । दोस्रो चरणमा “नन–स्टप आन्सर” नामक विधामा प्रतियोगीहरूले लगातार २० प्रश्नहरूको उत्तर दिनु पर्ने थियो। यस चरणमा समूह सी का बिजय विश्वकर्माले १६ वटा प्रश्न सही उत्तर दिएका थिए भने १७ औं प्रश्नमा असफल भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । समूह ई की ब्रिन्दा बास्तोला र दिपिका खड्काले सबै २० वटा प्रश्नको सफल उत्तर दिँदै उत्कृष्ट प्रदर्शन गरे। उनीहरूलाई कम्प्युटर सेट, ट्रफी, प्रमाणपत्र र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो। सस्थाका प्रमुख आचार्यले आफ्नो व्यक्तिगत आम्दानीबाट यो कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सामाजिक अभियन्ता समेत रहनुभएका आचार्य एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ । कार्यक्रमले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास र ज्ञानप्रतिको रुचि वृद्धि गर्न उल्लेखनीय योगदान पु¥याएको संस्थाले जनाएको छ ।


