इटहरी । विद्रोही समूह हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा गरिएको छ । इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा जोशीलाई श्रद्धाञ्जली दिन नेपालीहरू भेला भेला भएका हुन् । इजरायली विदेश मन्त्रालयको घोषणाअनुरुप जोशीको शव नेपाल पठाउनुअघि विमानस्थलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको थियो । श्रद्धाञ्जली दिन विमानस्थल पुगेका इजरायलमा रहेका नेपालीहरूले भावविह्वल हुँदै पुष्पगुच्छा र खादा अर्पण गरेर जोशीलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । श्रद्धाञ्जली सभामा इजरायली प्रशासनका अधिकारी र इजरायली नागरिकहरू पनि सहभागी भएका थिए । पढ्दै कमाउने सपना बोकेर इजरायल पुग्नुभएका जोशीको हालै मृत्यु पुष्टि भएपछि घटनाले समग्र नेपालीमा पीडा दिएको छ । जोशीको शव सोमबार नेपाल ल्याउने तयारी छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइनेछ । सो विमान सोमबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने तयारी छ । अध्ययनको सिलसिलामा इजरायल पुग्नुभएका कञ्चनपुरका विपिन जोशीलाई गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाएको थियो । त्यसपछि जोशीको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले मृत्यु भएको पुष्टि गरेका थिए ।


