इटहरी । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन गर्नुपर्ने अडान कायमै राखेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनलाई ढकेल्न खोजेको आशंका समेत गरेका छन् । वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नतर्फ उद्धत देखिएको उनीहरुको आरोप छ । कांग्रेस नेता गुरु घिमिरेले विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरूमा निहित रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने छुट कसैलाई नभएको बताउनुभयो । प्रतिनिधि सभाको निर्वाचन अगावै पार्टी महाधिवेशन मार्फत नयाँ नीति र नेतृत्व चयन गरी आगामी चुनावमा जानुपर्ने राष्ट्रिय आवश्यकता महसुस गरी विशेष महाधिवेशनको माग गरिएको उहाले जानकारी दिनुभयो । घिमिरेले बिशेष महाधिवशेन नभए नियमित महाधिवेशन निर्वाचन अघि नै गर्नुपर्नेमा जोड दिनुभयो । उनीहरुले केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी विधानको मूल भावना, मर्म र क्षेत्राधिकार विपरीत केही सदस्यहरूले आफ्ना धारणा राखेको भन्दै आपत्ति समेत जनाएका छन् । विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रूपमा ग्रहण गरी कार्यान्वयन तर्फ अघि बढ्न उनीहरुले आग्रह समेत गरेका छन् ।


