इटहरी। ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोसी खाँदबारी नगरपालिका –८ का २७ वर्षीय विशाल विश्वकर्मा ९बिबेक० लाई संखुवासभामा प्रहरीले पक्राउ गरेको छ । उनी गत भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए । फरारपछि विश्वकर्मा लामो समयदेखि लुकीछिपी बस्दैआएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको विशेष टोलीले आइतबार उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीका अनुसार विश्वकर्मालाई खाँदबारी बजार क्षेत्रबाट करिब डेढ किलोमिटर टाढा पक्राउ गरिएको हो । फरार कैदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको डीएसपी मैनालीले बताउनुभयो । उहाँका अनुसार कानुनी प्रक्रिया पूरा गरी कारागार प्रशासनसँग समन्वय गरेर विश्वकर्मालाई पुनः नख्खु कारागार पठाइने तयारी भइरहेको छ । अदालतले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेपछि विश्वकर्मा नख्खु कारागारमा कैद सजाय भोगिरहेका थिए ।


