इटहरी । भोजपुरको  पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बन्दै गएको छ ।  यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र अपनाएको प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गर्न थालेको हो । गाउँपालिकामा करिब चार सय हेक्टर क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ । यहाँका करिब नौ सय किसान खुर्सानी खेतीमा आवद्ध रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । खुर्सानी खेतीको अध्ययन, अवलोकन र आवश्यक जानकारी लिन देशका विभिन्न ठाउँबाट किसान र कृषि विज्ञ आउने गरेको किसानको भनाइ छ । हालै सिन्धुली जिल्लाको दूधौली नगरपालिकाका कार्यवाहक प्रमुख नन्दकिशोर थारुसहित कृषि शाखाका कर्मचारीले पौवादुङमा पुगेर खुर्सानी खेतीको स्थलगत अध्ययन गर्नुभएको छ । थारुले यहाँका किसानको बगानमा पुगेर खेती प्रविधि, आम्दानी, तथा देखिएका चुनौतीका विषयमा जानकारी लिएको बताउनुभयो । गाउँपालिकाले अकबरे खुर्सानी खेतीमा आवद्ध किसानलाई आवश्यक सहयोग गर्दै आएको छ । गत वर्ष मात्र खुर्सानी बिक्रीबाट रु १८ करोड आम्दानी भएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । खुर्सानी खेती विस्तारका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई करिब रु ७० लाख बराबरका मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरेको उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका स्थानीय किसान ठंगजीत राईले मौसमी तथा बेमौसमी खुर्सानी खेतीबाट वार्षिक रु ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले ४२ रोपनी जमिनमा करिब ३२ हजार बिरुवा विस्तार गर्नुभएको छ । पौवादुङमामा खुर्सानी खेतीले स्थानीय रोजगारीका साथै कृषि पर्यटनको सम्भावना पनि बढाएको किसानको भनाइ छ ।