इटहरी । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाईंदैछ । आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङ लगायतका ठाउँमा सरसफाई गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगन देखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठा सम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेश सहित लक्ष्मी स्थापना गरेर पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजा पछि कन्या र छोरी चेलीलाई लक्ष्मीको प्रतिक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरीने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डा. देवमणि भट्टराईले जानकारी दिनुभयो । आज बेलुका युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । यसैगरी आजै यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार पनि मनाइएको छ ।
यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । यसैबीच नेपाली सेनाको श्री भैरव वाहन गुल्ममा कुकुर तिहारको दिन कुकुर पूजा गरिएको छ । सेनाको भक्तपुरको सानो ठिमिस्थित भैरव बहान गुल्ममा ‘सैनिक डग प्रदर्शनी’ मा रेस्क्यु कलाका साथै गुल्ममा रहेका कुकुरहरुको पूजा गरिएको थियो । सेनाले उमेर र काम गर्ने क्षमताका आधारमा छनोट गरी डग केनलबाट शान्ति मिसनमा कुकुर पठाउने गरेको छ । एउटा स्वस्थ कुकुरले आठ वर्षको उमेर सम्म पूर्णरुपमा काम गर्न सक्ने बताइएको छ ।


