इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस नगरेको बताउनुभएको छ । काठमाडौंमा सम्पादकहरुसंगको छलफलका क्रममा अध्यक्ष ओलीले जेनजी आन्दोलनका क्रममा सेनाको सुरक्षामा रहँदा राष्ट्रपतिलाई निकासका लागि आवश्यक कदम सिफारिस गरेको तर सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस भने नगरेको बताउनुभएको हो । आफुले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेको भन्दै प्रचण्डले गरेको टिप्पणी झुठ बाहेक केहि नभएको उहाले बताउनुभयो । उहाले सुशीला कार्कीलाई प्रधानमन्त्रीका लागि सिफारिस गरेको प्रमाण देखाउन प्रचण्डलाई चूनौति दिनुभयो ।

अध्यक्ष ओलीले भदौ २३ को घटनामा गोली चलाउने आदेश आफूले नदिएको र त्यो आदेश दिने अधिकार प्रधानमन्त्रीको नभएको बताउनुभयो । आफूले दिँदै नदिएको आदेशको जिम्मा लिन नसक्ने ओलीले स्पष्ट पार्नुभयो । जेनजी आन्दोलनका नाममा आपराधिक क्रियाकलाप भएको बताउँदै उहाँले त्यसका विरुद्ध पत्रकारहरू समेत बोल्न नसकेको जिकिर गर्नुभयो । संसद् स्थापना बाहेक अरू कुनै विकल्प नरहेको बताउँदै ओलीले त्यो विषयको सम्पादकहरूले पनि समर्थन गर्नुपर्ने बताउनुभयो । निर्वाचनबाट छानिने कुरा आफूलाई प्यारो भए पनि अपराधी र बन्दुक बाहिर राखेर चुनाव हुन नसक्ने ओलीको भनाइ छ ।

एमालेले चुनाव बहिष्कार गर्न खोजेको नभई यो सरकारले चुनाव नै गराउन नसक्ने उहाँले दाबी गर्नुभयो । ओलीले जेनजीको माग अनुसार भ्रष्टाचारको छानबिन गर्न माग गर्नुभयो । त्यस्तै उहाले भ्रष्टाचार र असोज २३, २४ को घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य पत्ता लगाउने आग्रह गर्नुभयो । ओलीले आफूले जेनजीसँग छलफल गरेको बताउँदै उनीहरूले आफ्ना आन्दोलन हाइज्याक भएको गुनासो गरेको उल्लेख गर्नुभयो ।