इटहरी । धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले देउसी–भैलो लगायतका कार्यक्रम सञ्चालन गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले बेलुका १० बजे सम्म गर्न आग्रह गरेको हो । देउसी–भैलो खेल्दा कोही कसैको गुनासो नआउने गरी मात्र खेल्न र सार्वजनिक आवागमन हुने सडकमार्गमा अवरोध हुने गरी नखेल्न प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनु भएको छ ।

सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई बाधा पर्नेगरी कुनै पनि प्रकारको पूजा मण्डप वादीपावली उत्सव स्थल बनाउन समेत नपाइने भएको छ । यस्तै आपसी सद्भाव कायम गर्न, जुवातास नखेल्न, अनलाइन ठगीबाट बच्न, कालोबजारी नगर्न, सावर्जनिक सवारी साधनमा बढी भाडा नलिन लगायत भनिएको छ । जिल्ला प्रशासनले उल्लेखित कुराहरुको बर्खिलाप हुने गरी कोही कसैले कुनै गतिविधि गराएको पाइएमा नजिकको सुरक्षानिकाय वा प्रहरी कन्ट्रोल १ सय मा जानकारी गराउन समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गेलालले बताउनु भयो ।