भोजपुर — पछिल्ला वर्षहरूमा बाँदरको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यहाँका किसानहरू समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । सामान्यतया मंसिर–पुस महिनामा मात्र टिपिने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानहरूले बताएका छन् ।

बाँदरको हुलले बगैँचामा आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल टिपेर खाने मात्र होइन, कतिपय बोट भाँचेर समेत नोक्सान पुर्‍याउने गरेको स्थानीयहरूको गुनासो छ । भोजपुर नगरपालिका–५ बोखिमका किसान भीमप्रसाद फुयालका अनुसार, “बिहानदेखि बेलुकीसम्म बाँदरले बगैँचा सताउँछ । तर्साउन ढुंगा हाने पनि नियन्त्रणमा आउँदैन । छिनभर बगैँचामा पस्यो भने सखाप पारिदिन्छ,” उनले भने ।

जिल्लाको प्रमुख नगदेबालीका रूपमा पहिचान बनाएको सुन्तला खेती पछिल्ला वर्षहरूमा बाँदरको समस्याका कारण प्रभावित हुँदै गएको छ । उत्पादन घट्नुका साथै आम्दानीमा समेत गिरावट आएको किसानहरूको गुनासो छ ।

स्थानीय कृषक गीता कार्कीका अनुसार, समयअगावै फल टिप्नुपर्ने बाध्यताले बजार मूल्य घट्नुका साथै फलको गुणस्तरमा पनि असर परेको छ । किसानहरूले बाँदर नियन्त्रणका लागि सम्बन्धित निकायले तुरुन्तै ध्यान दिनुपर्ने माग गरेका छन् ।