इटहरी | आगामी कार्तिक १० र ११ गते मनाइने हिन्दुहरूको महान पर्व छैठ (बैठ पर्व)को तयारी इटहरीमा पुरा भएको छ। छैठ पर्व सेवा समिति, इटहरीले पत्रकार सम्मेलनमार्फत पर्वको तयारी र कार्यक्रमको विस्तृत विवरण सार्वजनिक गरेको हो।
समितिका अनुसार इटहरीको बुढीगंगा जमुना मुक्तिधाममा यो पर्व निरन्तर ३५ वर्षदेखि मनाइँदै आएको छ र यस वर्ष ३६ औं वर्षमा प्रवेश गरेको छ। देशको विषम परिस्थितिमा समेत समितिले धार्मिक अनुष्ठान सफलतापूर्वक सम्पन्न गर्दै आएको उल्लेख गर्दै यस वर्ष पनि भव्य, सभ्य र सुरक्षित रूपमा पर्व मनाउने तयारी भएको जानकारी दिइएको छ।
समितिका सचिव मुकेश कुमार चौधरीका अनुसार यस वर्ष करिब २ लाखभन्दा बढी व्रतालु तथा भक्तजनहरू सहभागी हुने अपेक्षा गरिएको छ। पूजा घाट निर्माणको कार्य अन्तिम चरणमा पुगेको र ६ सय वटा पूजा घाटहरू निर्माण गरिएको समितिका अध्यक्ष मनोज चौधरीले बताउनुभय ।
कार्तिक ८ गते ,राधाकृष्ण मन्दिर प्राङ्गणबाट बिहान ,कार्तिक ९ गते — खरना ,कार्तिक १० गते छैठ पूजा शुभारम्भ हुने , साँझ सांस्कृतिक कार्यक्रम तथा सन्ध्याकालीन अर्घ दिने र कार्तिक ११ गते बिहान धार्मिक सांस्कृतिक कार्यक्रम, उदाउँदो सूर्यलाई अर्घ र प्रसाद वितरण गरिने भएको छ ।
छैठ पर्व सेवा समितिले पर्वलाई सुचारु रूपमा सञ्चालन गर्न विभिन्न उपसमितिहरू गठन गरेको छ। अर्थ संकलन समिति, पूजा घाट व्यवस्थापन समिति लगायतका समूहले काम अघि बढाइरहेका छन्।
यद्यपि, घाट व्यवस्थापन, पिउने पानी, बाटो र बिजुलीको अभाव समितिका लागि प्रमुख चुनौती बनेका छन्। नदी किनारमा स्थायी पूजा स्थल नहुँदा हरेक वर्ष घाटको व्यवस्थापन गर्न कठिनाइ हुने समितिले जनाएको छ


