इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलन पछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त भएर लागेको बताउनुभएको छ । नेपाल संवत् नयाँ वर्ष ११४६ को अवसरमा नेपाल संवत् न्हूदँ संरक्षण समाजले बुधबार वसन्तपुरमा आयोजना गरेको स्वागत कार्यक्रममा उहाले आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले प्राप्त जिम्मेवारीअनुरुप सम्पूर्ण नेपाली जनताको सहभागितासहित निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा संवाद भइरहेको र परिवर्तनका बाहक ‘जेनजी पुस्ता’ का प्रतिनिधिहरूसँग पनि निरन्तर संवाद र सम्पर्कमा रहेको उहाले बताउनुभयो । उहाले नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि वर्तमान सरकारमाथि रहेको बताउँदै यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरुबाट काम अघि बढिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री कार्कीले भ्रष्टाचार अन्त्यसहित सुशासन र निर्वाचनका पक्षमा जुटेको सरकारलाई नागरिक समाजको साथ सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाले समाजमा आपसी सद्भाव र एकता कायम गर्दै लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्नका लागि पनि सबैसँग आह्वान गर्नुभयो ।


