भोजपुरको अरुण गाउँपालिका–४ चरम्बीस्थित रणबहादुर भुजेलको घरमा गए राति अज्ञात समूहले आगजनी गरेको छ। आगलागीबाट तीन तले नयाँ घर पूर्णरूपमा क्षति भएको छ भने काठका सामग्री, दुईवटा मोटरसाइकल, मकैलगायत मिलेर करिब १७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको अस्थायी प्रहरी चौकी चरम्बीका प्रहरी सहायक निरीक्षक ओम थापाले जानकारी दिनुभयो।
आइतबार बिहान साढे २ बजे सुतेको अवस्थामा आगजनी भएको र स्थानीयवासीहरूले होहल्ला गरेपछि घर परिवार, छिमेकी तथा प्रहरी टोलीले आगो नियन्त्रणमा लिन सफल भएका थिए। भुजेल परिवार हाल पुरानो घरमा बसोबास गर्दै आएको र आगजनी भने नयाँ घरमा भएको बताइएको छ।
घटनाको विस्तृत कारण नखुलेको हुँदा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।


