भोजपुर | भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयको सहयोगार्थ आयोजित देउसी–भैलो तथा साँस्कृतिक कार्यक्रमबाट चार लाख रुपैयाँ संकलन गरिएको छ। विद्यालयको आर्थिक सुदृढीकरण र शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले स्थानीयवासीहरूले आफैं पहल गरेर अभियान सफल बनाएका हुन्।
विद्यालय व्यवस्थापन समिति तथा वडा नं.७ का अध्यक्ष कुमार थापाले विद्यालय सञ्चालनका लागि दीगो आम्दानी स्रोत विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
“विद्यालयको सहयोगार्थ देउसी–भैलोसँगै साँस्कृतिक कार्यक्रम गरी रकम संकलन गरेका छौँ,” अध्यक्ष थापाले भन्नुभयो, “स्थानीयको साथ र कलाकारहरूको निःशुल्क सहयोगले अभियान सफल हुन पायो।”संकलित रकम विद्यालयको शैक्षिक सुधार, आवश्यक पूर्वाधार निर्माण तथा दीगो आम्दानी स्रोत विकासमा प्रयोग गरिनेछ।
कार्यक्रममा लोकगायक शुकदेव अधिकारी, स्थानीय कलाकार बीरबहादुर लिम्बु, तेजेन्द्र गन्भर्व, मनीपाल राई र टीका मगरले आकर्षक प्रस्तुति दिए। मोडल तथा निर्देशक जीवन थापाको विशेष उपस्थिति रहेको थियो। विभिन्न क्षेत्रका कलाकारहरूलाई विद्यालयले सम्मानपत्र प्रदान गरेको जानकारी विद्यालयले दिएको छ।
यसअघि विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबै विद्यार्थी उतीर्ण गराउँदै गाउँपालिकाभित्र उत्कृष्ट नतिजा हासिल गरेको थियो। सो उपलब्धि र यसपटकको सहयोग अभियानलाई उदाहरणीय भन्दै गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले विद्यालयलाई प्रशंसा गरे। उनका अनुसार गाउँपालिकाले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरेको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, नेपाली कम्युनिष्ट पार्टीका कोशी प्रदेश सचिवालय सदस्य बिमल खड्का, नेपाली कांग्रेसका गाउँ पार्टी सभापति श्रीकुमार राई, नेकपा एमाले अरुण गाउँपालिका अध्यक्ष बुद्धीबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लक्ष्मी अधिकारीलगायत स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।


