इनरुवा, सुनसरी । नेपाल खेलकुद महासङ्घ इनरुवा र युवा सङ्घ इनरुवाको संयुक्त आयोजना तथा नेकपा (एमाले) इनरुवा नगर कमिटीको सहकार्यमा आज सुनसरीको सदरमुकाम इनरुवामा भव्य मोटरसाइकल र्याली सम्पन्न गरिएको छ ।

देशभरि नेकपा (एमाले)ले सञ्चालन गरिरहेका विविध राजनीतिक र जनजागरण कार्यक्रमहरूको क्रममा आज इनरुवामा आयोजित उक्त र्यालीमा सयौँ युवा उत्साहपूर्वक सहभागी भएका थिए । झण्डा, ब्यानर र देशभक्तिपूर्ण नारासहितको र्यालीले इनरुवाको मुख्य बजार गरेको थियो ।

नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव विप्लव घोषले र्याली युवाहरूमा जागरण र राष्ट्रिय एकताको भावना प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको बताउनुभयो । महासङ्घ सुनसरीका सचिव सरोज बस्नेतले र्यालीले युवा पुस्तामा अनुशासन, राष्ट्रप्रेम र एकताको सन्देश फैलाएको जनाउनुभयो ।

र्यालीपछि आयोजित कोणसभामा महासङ्घका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतले हालको राजनीतिक परिस्थितिमा युवाहरू सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै संसद् विघटनजस्ता गैरसंवैधानिक गतिविधिबाट सावधान रहन सबैलाई आग्रह गर्नुभयो । उहाँले “राष्ट्रको भविष्य युवा पुस्तामै अडिएको छ, प्रतिगामी शक्तिविरुद्ध युवाहरू अग्रभागमा उत्रनुपर्ने बेला आएको छ,” भन्दै दृढ प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) की केन्द्रीय सदस्य भगवती चौधरी, प्रदेश सदस्यहरू रामप्रसाद मेहता र सन्तोषी श्रेष्ठ, जिल्ला अध्यक्ष परशुराम यादव, स्थानीय तहका जनप्रतिनिधि, खेलकुद महासङ्घका पदाधिकारी तथा एमालेका विभिन्न भ्रातृसंगठनका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिती रहेको युवा संघ इनरुवा अध्यक्ष रमेश आचार्यले बताउनुभयो ।
कोणसभामा नेकपा एमाले केन्द्रीय सदस्य भगवती चौधरीले देशको विकास, स्थायित्व र सुशासनका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिदै युवालाई राष्ट्रिय गौरव, सामाजिक जिम्मेवारी र सशक्त नेपालको निर्माणमा समर्पित रहन आह्वान गर्नुभयो।


