इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका १ स्थित महादेवथान गुफामा आयोजित बाला चतुर्दशी मेला सम्पन्न भएको छ । रामप्रसाद राई गाउँपालिका, पौवादुङ्मा र हतुवागढी गाउँपालिकाको सङ्गम स्थल कावा खोला किनारमा रहेको महादेवथान गुफा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल हो । हतुवागढी गाउँपालिकाको लगानीमा गुफा सम्म पुग्ने कच्ची  सडक विस्तार र गुफा वरिपरि रेलिङ निर्माण गरिएको छ । बाला चतुर्दशी तिथिको अवसरमा महादेवथान संरक्षण समितिले सञ्चालन गरेको दुई दिने मेला मंगलबार बिहान पितृको सम्झनामा सतबिज छरेर समापन गरिएको हो । परापूर्वक काल देखि पुजापाठ गरिदै आएको सो स्थानमा सुरक्षा खतरा भएसँगै विगत १८ वर्ष पुजापाठ स्थगित गरिएको थियो । पुनः स्थानीयको पहलमा तीन वर्ष यता वार्षिक रुपमा धार्मिक मेला आयोजना गरिदै आएको स्थानीय जय खड्काले बताउनु भयो । मेलामा रामप्रसाद राई गाउँपालिका र पौवादुङ्मा गाउँपालिका बाट समेत श्रद्वालु भक्तजनको उपस्थिती रहेको थियो ।  तीन पालिकाको सङ्गम स्थलमा अवस्थित महादेव गुफाको संरक्षण र पर्यटन प्रवद्र्धनको लागि अन्तरपालिका स्तरीय समन्वय भई रहेको पौवादुङ्मा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राइले बताउनु भयो । श्रद्वालुहरुले मेलामा पहिलो दिन पुजाअर्चना, प्रसाद ग्रहण र रातभर दिवङ्गत पितृको सम्झनामा बत्ती बालेर भजनकिर्तन गाउदै जागराम बस्ने र चतुर्दशीको दिन बिहान कावा खोला किनारमा स्नान गरेर महादेव थानलाई परिक्रमा गरि सतबिज छरेका हुन । हिन्दु धर्मावलम्बीहरुले मंसिर महिनाको कृष्ण पक्षको चतुर्दशीलाई बाला चतुर्दशीको रुपमा मान्ने गर्दछन् ।