इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ मा रहेको सुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको तेस्रो वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
साना किसान कृषि सहकारी संस्थाको सभाहलमा आयोजित सभामा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईं प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । संस्थाका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मी सिग्देलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव शंकर देवानले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सभामा अध्यक्ष राजेन्द्र राईले प्रगति प्रतिवेदन र आगामी योजना, कोषाध्यक्ष चिरञ्जीवी रेग्मीले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक परशुराम घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल गर्दै संस्थाको आगामी कार्ययोजना तय गरिएको थियो। कार्यक्रममा वडाध्यक्ष सन्तोष लिङ्देन, विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उपभोक्ताहरूको उपस्थिति रहेको थियो। सोही अवसरमा संस्थाका सल्लाहकार पुरनकुमार राई र निवर्तमान अध्यक्ष नागेश पोखरेललाई सम्मानपत्र प्रदान गर्दै टोपी लगाएर सम्मान गरिएको थियो। साथै, उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कार र अतिथिहरूलाई मायाको चिनो वितरण गरिएको थियो। प्रमुख अतिथि नगर प्रमुख गुरागाईंले खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले गुणस्तरीय सेवा प्रवाहमा जोड दिन आग्रह गर्नुभयो। साधारण सभाले आगामी दिनमा सेवाको गुणस्तर सुधार र उपभोक्ताको हितलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।


