इटहरी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ को आयोजनामा संगठन सुदृढीकरण अभियान अन्तर्गत शुभकामना तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ।
‘लास र दासबिनाको पार्टी निर्माण अभियानमा जुटौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा २०८३ सालको शुभदीपावली, छठ, नेपाल संवत्, उधौली–उभौली, इद, ल्होसार लगायत विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रम क्षेत्रीय सभापतिका प्रत्याशी तथा युवा नेता क्षेत्रीय सदस्य राजेन्द्रप्रसाद ढकालको सभापतित्व एवं पूर्वप्रमुख जिल्ला अधिकारी तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिका प्रत्याशी प्रेमप्रकाश उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का पूर्वसभापति देवराज तामाङ, सुन्दरहरैंचा नगरपालिकाका पूर्वनगर सभापति कृष्णबहादुर लिम्बू, नेपाली कांग्रेस मोरङका जिल्ला सचिव मोदराज घिमिरे लगायत जिल्लाका विभिन्न तहका नेता तथा पदाधिकारीहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा पार्टीको संगठनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउँदै आन्तरिक लोकतन्त्र तथा पार्टी रूपान्तरणका अभियानलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने विषयमा जोड दिइएको थियो।


