इटहरी । श्रम तथा रोजगार कार्यालय विराटनगरले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र अनियमितता नियन्त्रण गर्ने उद्देश्यले झापा मोरङ सुनसरीका विभिन्न क्षेत्रमा अनुगमन गर्ने क्रममा इटहरीमा सञ्चालित केही मेनपावरको शंकास्पद गतिविधि र दर्ता नवीकरणका कागजपत्र नदेखिएकोले कार्यालयका कागजपत्र कम्प्युटर डेस्कटप लगायतका सामग्री नियन्त्रणमा लिनुको साथै कार्यालयमा तालाबन्दी समेत गरिदिएको छ ।
त्यस्तै शङ्कास्पद कार्यालयहरूलाई आवश्यक कागजपत्र लिएर तीन दिनभित्रमा कार्यालयमा उपस्थित हुन पत्र समेत काटेको छ। वरिष्ठ श्रम अधिकृत निरजकुमार देवको नेतृत्वमा खटिएको अनुगमन टोलीले इजाजत पत्र विना अवैध रूपमा सञ्चालित भएको गुनासो आएको मेनपावर कम्पनीमा ताला लगाएको हो । त्यस्तै विभिन्न प्राइभेट कम्पनीहरूमा काम गर्ने कामदारहरूको तलब भत्ताहरू नपाएका गुनासो आएका कम्पनी तथा उद्योगहरूमा पुगी अनुगमन तथा निरीक्षण समेत गएिको छ । श्रम कार्यालयको टोली अनुगमन गर्न आउँदैछ भन्ने थाहा पाएपछि केही मेनपावरका सञ्चालकहरू कार्यालयमा ताला लगाइ सम्पर्कविहीन भएपछि श्रम कार्यालयको टोलीले सम्पर्कमा ल्याई कर्मचारी स्थानीय तथा सञ्चारकर्मीको रोहबरमा ती कार्यालयहरू खोल्न लगाई खानतलासी गरेको थियो। खानतलासीका क्रममा कार्यालयहरूबाट सेवाग्राहीहरुका राहदानी (पासपोर्ट), शंकास्पद कागजात, विभिन्न फाइल तथा कम्प्युटर सेटहरू नियन्त्रणमा लिइएको छ। तोकिएभन्दा बढी रकम असुल्ने, सेवाग्राहीको राहदानी गैरकानुनी रूपमा होल्ड गर्ने र विना इजाजत कारोबार गर्ने गरेको पाइएपछि कार्यालयमा ताला लगाइएको वरिष्ठ श्रम अधिकृत देवले बताउनुभयो ।
यसरी ताला लगाइएका र शंकास्पद गतिविधि भेटिएका म्यानपावर कम्पनीका सञ्चालकहरूलाई तीन दिनभित्र सम्पूर्ण वैध कागजात तथा विवरण सहित श्रम तथा रोजगार कार्यालय विराटनगरमा उपस्थित हुन कडा पत्राचार गरिएको छ। नियन्त्रणमा लिइएका कागजात र सामग्रीहरूको कसुरका आधारमा विस्तृत छानबिन गरी कानुन विपरीत कार्य गर्ने म्यानपावरहरूलाई थप कानुनी कारबाहीको दायरामा ल्याइने श्रम कार्यालयले स्पष्ट पारेको छ। यसप्रकारको कारबाहीले वैदेशिक रोजगारीका नाममा हुने अवैध धन्दा र ठगी नियन्त्रण गर्न ठूलो सहयोग पुग्ने स्थानीय सेवाग्राहीहरूको अपेक्षा रहेको छ।


