इटहरी/ ग्रामीण भेगका आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै र ‘सुरक्षित मातृत्व’ को नारालाई सार्थक बनाउने उद्देश्यले चौधरी फाउण्डेशनले सुनसरीमा एक प्रशंसनीय कदम चालेको छ । फाउण्डेशनले सुनसरीको गढी गाउँपालिकास्थित एक स्वास्थ्य संस्थालाई अत्यावश्यक आधुनिक उपकरणहरू उपलब्ध गराउँदै स्थानीय स्वास्थ्य सेवामा नयाँ आयाम थपेको हो ।

गढी गाउँपालिका–२, सत्तेरझोरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक विशेष कार्यक्रमका बीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालन तथा स्तरोन्नतिका लागि आवश्यक महँगा र आधुनिक उपकरणहरू हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा बोल्दै प्रबन्ध निर्देशक चौधरीले भन्नुभयो, “हाम्रो उद्देश्य भनेको उपचारका लागि आउने ग्रामीण भेगका महिला र नवजात शिशुहरूले सुरक्षित, सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकून् भन्ने हो ।” उहाँले स्वास्थ्य चौकीको सेवा प्रवाहमा सुधार ल्याउन र बर्थिङ सेन्टरलाई आधुनिक सुविधासहित सञ्चालन गर्न यो सहयोग कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

चौधरी फाउण्डेशनले केवल सुनसरीमा मात्र नभई, स्थानीय आवश्यकताका आधारमा देशका सातवटै प्रदेशमा रहेका बर्थिङ सेन्टरहरूलाई सहयोग र स्तरोन्नति गर्दै आइरहेको छ । स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउन र स्वस्थ समुदाय निर्माण गर्न फाउण्डेशनले आगामी दिनमा पनि आफ्नो सहयोग र प्रयासहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।

स्वास्थ्य क्षेत्रमा मात्र सीमित नभई, फाउण्डेशनले शिक्षा क्षेत्रमा पनि सहयोगको हात अघि बढाएको छ । प्रबन्ध निर्देशक चौधरीले सुनसरीकै औरावनीमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयलाई पनि आवश्यक इलेक्ट्रिक सामग्रीहरू प्रदान गर्नुभयो, जसले विद्यालयको भौतिक पूर्वाधार र पठनपाठनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

फाउण्डेशनको यो मानवीय कार्यको स्थानीय सरकारले उच्च प्रशंसा गरेको छ । गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरीले फाउण्डेशनको सहयोग निकै प्रभावकारी रहेको बताउँदै गाउँपालिकाका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई ‘कदर–पत्र’ प्रदान गरी सम्मान गर्नुभयो । समाजमा यस्ता सकारात्मक कार्यहरूले अन्य निजी क्षेत्रलाई पनि प्रेरित गर्ने अध्यक्ष चौधरीको भनाइ थियो ।