इलाम । इलामका सडक मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षतिग्रस्त सडक र पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिकपूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको हो ।

क्षति भएका मेची राजमार्ग, माईखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवा खोला पुल, जोगमाई खोला पुल र मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम खर्च गरिने छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा दिएको छ । स्रोत सहमति प्राप्त भएकाले अब सडक तथा पुल पुनर्निर्माणका लागि खरिद प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले विपद्‍बाट क्षतिग्रस्त सडकका संरचना मर्मत तथा पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भएकाले टेन्डरको प्रक्रिया तत्काल अगाडि बढाउन सडक विभागलाई निर्देशन दिनुभएको छ । उक्त कार्य विभाग मातहतको सडक डिभिजन, इलामले कार्यान्वयन गर्ने छ ।