सुनसरी । सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालकको मृत्यु भएपछि सुनसरीको लौकही बजार तनावग्रस्त बनेको छ । बिहीबार बिहान करिब राति १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो ।  

साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेर प्रदर्शन गरेका छन्। मृतकको शव पूर्व पश्चिम राजमार्गमा राखी सडक अवरुद्ध गरी स्थानीय प्रर्दशनमा उत्रिएका हुन् । सो क्रममा प्रर्दशनकारीहरुले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका छन् भने सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी र तोडफोडसमेत गरेको छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

1767245788-dSu4K

घटनाका विषयमा नम्बर ४ गण हेड क्वाटर सुनसरीले तस्करीको सामान नियन्त्रणको क्रममा क्रस फायरिङ भएको भएको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी निर्मल थापाले भन्सार छलीका सामान बोकेको अटो रोक्ने क्रममा उक्त समूहबाट पहिला फायरिङ भएको बताउनुभएको छ । जवाफी फायरिङका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा चिनीका बोरा लोड गरी पछाडीबाट आउँदै गरेको सिटी चालकलाई लाग्न पुगेको एसपी थापाको भनाइ छ ।

यता स्थानीयका अनुसार रातको करिव साढे १ बजे गोली चलेको आवाज सुनिएको थियो । बाहिर निस्किएर हेर्दा वरीपरी सशस्त्र प्रहरी थिए । एक व्यक्तिलाई गोली लागेको थियो । 

घटनालाई स्थानीयले सशस्त्रको ज्यादती भन्दै आरोप लगाएका छन् । उनीहरुले सशस्त्र प्रहरी उपर सेटिङको आरोप लगाउँदै रकम नपाएको निहुँमा गरिखाने सामान्य व्यक्तिको गोली हानी हत्या गरेको आरोप लगाएका छन् ।