इटहरी । सुनसरीको सदरमुकाम इनरुवामा तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण गर्ने आधुनिक प्रयोगशाला स्थापना गर्न माग गरिएको छ ।
उपभोक्ता मञ्च नेपाल, इनरुवा नगर कार्यसमितिले इनरुवा नगरपालिकाका नगरप्रमुख र उपप्रमुखसमक्ष एक पत्र बुझाउँदै उक्त माग अघि बढाएको हो। उपभोक्ता मञ्च नेपाल, इनरुवाका अध्यक्ष शंकरनाथ महाजुको अध्यक्षतामा बसेको बैठकपछि बुझाइएको पत्र पेस कार्यक्रममा सचिव रोशन यादव, कोषाध्यक्ष अख्तर खान र सदस्य मुन्ना सिंहको समेत सहभागिता रहेको थियो। मञ्चले बुझाएको ज्ञापनपत्रमा नगरभित्र आधुनिक प्रयोगशाला स्थापना गरी आवश्यक बजेट तथा दक्ष जनशक्तिको तत्काल व्यवस्था गर्न आग्रह गरिएको छ।
साथै, बजार र पसलहरूबाट नियमित नमुना संकलन गरी परीक्षण गर्ने, मापदण्ड विपरीत विषादी प्रयोग गरिएका कृषि उपज बिक्री गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने तथा नयाँ प्रयोगशाला नबन्दा सम्म वैकल्पिक परीक्षण सेवा सञ्चालन गरी उपभोक्ताको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता दिन माग गरिएको छ। दैनिक उपभोग्य वस्तुमा प्रयोग हुने विषादीले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यसको नियमित अनुगमन र नियन्त्रणका लागि गम्भीरतापूर्वक पहल गरिदिन नगरपालिकालाई अनुरोध गरिएको छ ।

