दिङ्ला । भोजपुरमा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको सङ्ख्या एक लाख २५ हजार ७६६ पुगेको छ । मतदाता नामावली दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिएसँगै मतदाताको संख्या एक लाख २३ हजार ३७९ जना बाट बढेर एक लाख २५ हजार ७६६ पुगेको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिकपछि जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ कायम भएको हो । निर्वाचन कार्यालयअनुसार कूल मतदातामध्ये ६५ हजार ७८८ जना पुरुष, ५९ हजार ९७७ जना महिला तथा एक जना अन्य मतदाता रहेका छन् ।
स्थानीय तहअनुसार भोजपुर नगरपालिकामा २० हजार १८९, षडानन्द नगरपालिकामा २१ हजार ८९६, टेम्केमैयुङ गाउँपालिकामा १३ हजार ५५७, आमचोक गाउँपालिकामा १२ हजार ४४४ जना मतदाता कायम छन् ।
त्यसैगरी अरुण गाउँपालिकामा १२ हजार ६४३, पौवादुङमा गाउँपालिकामा १० हजार ६६३ जना, रामप्रसादराई गाउँपालिकामा ११ हजार ९००, साल्पासिलिछो गाउँपालिकामा आठ हजार ७२४ र हतुवागढी गाउँपालिकामा १३ हजार ७५० मतदाता छन् ।


