इनरुवा । सुनसरीको लौकहीमा भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालकको मृत्यु हुने गरी गोली चलाउने सशस्त्र प्रहरीका हवलदारलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको छानबिनका लागि प्रहरीले सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नवराज खतिवडालाई बिहीबार नै पक्राउ गरेर सोधपुछ गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले शुक्रबार पुष्टि गर्नुभयो ।
घटनापछि सिर्जित तनाव र अनुसन्धानको प्रक्रियाबारे जानकारी दिँदै सीडीओ घिमिरेले गोली हान्ने मुख्य व्यक्तिलाई नै नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो,‘‘जसले गोली हानेको हो, उसलाई नियन्त्रणमा लिइएको छ ।’’
बिहीबार बिहान करिब राति १ बजे प्रहरीले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । लौकही नाकाबाट तीन वटा अटो रिक्सामा चिनी लिएर आएको समूहलाई सशस्त्रले गोली हानेको थियो । सोही क्रममा साहको मृत्यु भएको हो । सशस्त्र प्रहरीले भने तस्करको समूहले पहिला गोली हानेको र जवाफी कारबाही गर्दा दुर्घटना भएको दाबी गर्दै आएको छ ।
घटनाको निष्पक्ष छानबिनका लागि सुनसरी प्रशासनले सहायक सीडीओ घनश्याम न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता समेत रहेका डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत सदस्य हुनुहुन्छ । समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन बुझाउन ७ दिनको म्याद दिइएको छ। प्रतिवेदन प्राप्त भएपछि सोही आधारमा थप कानुनी कदम चालिने प्रशासनले जनाएको छ ।


