इटहरी । चर्चित नेपाली सांगीतिक समूह नेपथ्यका गायक अमृत गुरुङसँग विद्यार्थीहरूले प्रत्यक्ष संवाद गर्ने अवसर पाएका छन्।

इटहरीस्थित कस्तुरी कलेजले आयोजना गरेको ‘नेपथ्य टक विथ अमृत गुरुङ’ कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले गुरुङसँग उहाँको जीवनयात्रा, सांगीतिक संघर्ष, सफलता र प्रेरणाका विषयमा जिज्ञासा राखेका हुन् । ‘अमृत विथ कस्तुरी कलेज’ र ‘अमृत विथ कस्तुरी कलेज स्टुडेन्ट’ भन्दै स्वागत गरिएको कार्यक्रममा अमृत गुरुङले आफ्नो जीवनका विभिन्न अनुभव, नेपथ्य ब्यान्डको स्थापना, सांगीतिक यात्राका सुरुवाती दिन तथा सफलताका लागि गर्नुपरेका संघर्षका कथाहरू सुनाउनुभएको थियो । कस्तुरी कलेजका प्राचार्य कमलेश पौडेलले सहजीकरण गर्नुभएको संवाद कार्यक्रममा गुरुङले आफ्नो बाल्यकालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गर्दासम्मका अनुभवहरू विद्यार्थीमाझ साझा गर्नुभएको थियो ।

उहाँले नेपथ्यको सुरुवात, ब्यान्डले नेपाली संगीत क्षेत्रमा स्थापित हुन गरेको मेहनत र यात्राका क्रममा भोगेका चुनौतीबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा गुरुङले सफलता एकैपटक प्राप्त नहुने भन्दै त्यसका लागि निरन्तर मेहनत, धैर्य, लगनशीलता र आफ्नो लक्ष्यप्रतिको प्रतिबद्धता आवश्यक हुने सन्देश दिनुभएको थियो । आफ्नो रुचि र क्षमतालाई पहिचान गरी त्यसलाई निरन्तर अघि बढाउन सके जीवनमा सफलता प्राप्त गर्न सकिने उहाँको अनुभव थियो। विद्यार्थीहरूले गुरुङसँग संगीत, जीवनका उतारचढाव, युवाको भूमिका, आफ्नो रुचिको क्षेत्र छनोट तथा लक्ष्य प्राप्तिका लागि अपनाउनुपर्ने उपायबारे प्रश्न गरेका थिए। विद्यार्थीका जिज्ञासाको जवाफ दिँदै उहाँले जीवनमा आउने चुनौतीलाई अवसरका रूपमा लिनुपर्ने र आफ्नो कामप्रति इमानदार रहनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । नेपथ्यले नेपाली संगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन खेलेको भूमिका र नेपाली मौलिक संगीतको महत्वबारे पनि कार्यक्रममा चर्चा गरिएको थियो।

गुरुङका जीवन अनुभव र संघर्षका कथाले विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति प्रेरित गरेको आयोजकले जनाएको छ। कलेजमा अध्ययनरत विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै जीवनोपयोगी अनुभव र प्रेरणा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कस्तुरी कलेजले जनाएको छ। कार्यक्रममा इटहरीका विभिन्न सामाजिक व्यक्तित्व, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। संवाद कार्यक्रमले विद्यार्थीहरूलाई सफल व्यक्तित्वसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको जीवनयात्राबाट सिक्ने अवसर प्रदान गरेको थियो।