इटहरी स् तिहार तथा अन्य पर्वका लागि प्रयोग हुने सयपत्री फूल भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा सुनसरीमा ठूलो परिमाणमा फूल बरामद भएको छ। सशस्त्र प्रहरीले २०९ किलो सयपत्री फूल नियन्त्रणमा लिएको हो।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ मेहता टोलबाट भारततर्फबाट साइकलमा लोड गरी ल्याउँदै गरिएको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले चार पोका फूल बरामद गरेको हो। बोर्डर आउट पोस्ट ९बीओपी० लौकहीबाट खटिएको सशस्त्र प्रहरी टोलीले सीमावर्ती क्षेत्रमा निगरानी गर्ने क्रममा फूल नियन्त्रणमा लिएको जनाएको छ। बरामद फूलको तौल २०९ किलो रहेको र त्यसको अनुमानित मूल्य एक लाख ४६ हजार ३०० रुपैयाँ रहेको सशस्त्र प्रहरीका प्रमुख लभ सापकोटाले जानकारी दिएका छन्।

बरामद फूल आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सुनसरी भन्सार कार्यालय, सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। नेपालमा सयपत्री फूलको व्यावसायिक खेती विस्तार हुँदै गएको अवस्थामा भारतबाट अवैध रूपमा फूल भित्रिनुले स्थानीय किसान तथा पुष्प व्यवसायीको बजारमा असर पार्न सक्ने देखिन्छ। विशेषगरी चाडपर्वका समयमा फूलको माग बढ्ने र बजार मूल्यसमेत उच्च हुने भएकाले सीमावर्ती नाकाबाट हुने अवैध आयात नियन्त्रण चुनौतीपूर्ण बन्दै आएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध आयात नियन्त्रण तथा राजस्व चुहावट रोक्न निगरानी र गस्तीलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।