इटहरी। कोशी प्रदेशका प्रदेश प्रमुखको पाँचबर्से अवधि यही कात्तिक २४ गते पूरा हुँदै छ । सङ्घमा बारम्बार सरकार परिवर्तन हुँदा प्रदेशका सरकारदेखि प्रदेश प्रमुखसम्मको फेरबदलको अभ्यास चल्थ्यो । संवैधानिक पदमा राजनीतिक समीकरणको असर बारम्बार परिरहे पनि कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले पूर्ण अवधि पदमा बहाल रहने अवसर पाउनुभयो । 

२०७८ साल कात्तिक २५ गते कार्यभार समाल्नुभएका प्रदेश प्रमुख खापुङको आगामी २४ गते कार्यकाल पूरा हुने भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बिदाइ भेटघाट गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले प्रदेशको अभिभावकका रूपमा जिम्मेवारी निर्वाह गरेर विकास र समृद्धिमा दिनुभएको योगदानप्रति आभार व्यक्त गर्नुभएको थियो । दलगत विभाजन र सरकार परिवर्तनसमेतको छाया नपरेपछि प्रदेश प्रमुख खापुङले संवैधानिक दायरा अनुसारको भूमिकासमेत प्रशंसायोग्य बन्यो । मुख्यमन्त्री कार्कीले आइतबार बिदाइ भेटघाटपछि समेत उहाँको अभिभावकीय भूमिकाको उच्च सम्मान गर्न योग्य रहेको भन्दै प्रशंसा गर्नुभएको थियो । 

सबैसँग सन्तुलित भूमिका भएका खापुङ पूरा कार्यकाल पद बहाल रहने व्यक्तिमा पर्नुहुन्छ । नेपालको संविधानले प्रदेश प्रमुखको पदावधि पाँच वर्ष तोकेको छ । संवैधानिक व्यवस्था अनुसार मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने व्यवस्था छ । प्रदेश प्रमुख सङ्घीय सरकारका प्रतिनिधि भए पनि भूमिका मुख्यतः संवैधानिक र आलङ्कारिक हुन्छ । संविधान र कानुनले स्पष्ट रूपमा स्वविवेक प्रयोग गर्न दिएको अवस्थाबाहेक प्रदेश मन्त्रीपरिषद्को सिफारिस र सहमतिमा काम गर्नुपर्ने व्यवस्था छ । 

खापुङ २०७८ साल कात्तिक २३ मा प्रदेश प्रमुख नियुक्त हुँदा जनता समाजवादी पार्टी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्चमार्फत पुनस्र्थापना भयो । त्यसपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा नेपालसहितका दलको गठबन्धनमा सरकार बन्यो । यहीबेला खापुङ प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस हुनुभएको थियो ।