काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लव र न्यु डायमण्ड स्पोट्र्स युथ क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनलमा प्रवेश गरेका छन् । 

शुक्रबार भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लव र विभागीय टोली एपीएफलाई पराजित गर्दै न्यु डायमण्ड फाइनल प्रवेश गरेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको सेमिफाइनलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गर्यो । खेलमा पुलिस २५–१२, २९–३१, २५–१४ र २५–१८ ले बिजयी भएको हो ।

त्यस्तै शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा न्यु डाइमन्डले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलमा न्यु डाइमन्डले २५–१७, २५–२० र २५–७ ले खेल आफ्नो पक्षमा पार्यो । पुलिस क्लव र न्यु डायमण्डबीचको फाइनल खेल शनिबार हुने भलिवल संघले जनाएको छ ।