सुन्दरहरैँचा। मोरङको सुन्दरहरैँचा–गछियाका १८ वर्षीय जस्बिन ढुंगाना अहिले क्रिकेट खेलाडीदेखि कमेन्टेटरसम्मको यात्रा तय गर्दै छन्। नेपालको राष्ट्रिय क्रिकेट कमेन्टेटरका रूपमा परिचित उनी हाल सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा ग्राउन्ड कमेन्टेटरका रूपमा काम गरिरहेका छन्।
सानैदेखि क्रिकेटप्रति विशेष लगाव राख्ने जस्बिन विद्यालयको छुट्टीपछि घर फर्केर साथीहरूसँग घरनजिकैका खेतमा क्रिकेट खेल्ने गर्थे। खेलाडी बन्ने सपना बोकेर क्रिकेटमा रमाएका उनी अहिले क्रिकेटसँगै सम्बन्धित क्षेत्रमा व्यावसायिक रूपमा आबद्ध हुन पाउँदा खुसी छन्।
“सानैदेखि क्रिकेटप्रति छुट्टै लगाव थियो। विद्यालय छुट्टी भएपछि घर फर्केर साथीहरूसँग मिलेर घरनजिकैका खेतहरूमा क्रिकेट खेल्ने गर्थें। आज क्रिकेटसँगै सम्बन्धित क्षेत्रमा आबद्ध भएर काम गर्दै छु,” जस्बिन भन्छन्।
क्रिकेटप्रतिको उनको लगाव कमेन्ट्रीमा मात्र सीमित छैन। कक्षा ११ मा अध्ययन गर्दादेखि नै उनी ग्रासरुट क्रिकेटको विकास र प्रवर्द्धनमा सक्रिय छन्। विद्यालयस्तरमा क्रिकेटको विकास गर्ने उद्देश्यले उनले इन्टरस्कुल क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएका छन्।
लगातार तीन वर्षदेखि आयोजना हुँदै आएको उक्त प्रतियोगिताको चौथो संस्करणको तयारीमा उनी जुटेका छन्। विद्यालयस्तरबाटै क्रिकेट खेलाडी उत्पादन गर्ने र युवामा क्रिकेटप्रतिको रुचि बढाउने उनको प्रयास छ।
सानो उमेरदेखि देखेको सपना र क्रिकेटप्रतिको निरन्तर लगावले जस्बिनलाई आज यो स्थानसम्म पुर्याएको छ। खेलाडी बन्ने सपना बोकेर सुरु भएको उनको क्रिकेट यात्रा अहिले कमेन्ट्री र ग्रासरुट क्रिकेटको विकाससम्म फैलिएको छ।
जस्बिनका पिता जीवन ढुंगाना उद्योग वाणिज्य संघ सुन्दरदुलारीका पूर्वअध्यक्ष तथा सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ३ का पूर्ववडाध्यक्ष हुन्।
क्रिकेटप्रतिको लगाव, निरन्तर मेहनत र नयाँ पुस्तालाई क्रिकेटमा जोड्ने प्रयासले जस्बिन ढुंगानाको यात्रा युवा पुस्ताका लागि प्रेरणाको विषय बनेको छ।


