इटहरी । कोशी प्रदेशको तरहरामा मकै उत्पादन तथा उत्पादनपछिको व्यवस्थापनमा प्रयोग हुने कृषि यन्त्र सञ्चालनसम्बन्धी तालिम सुरु भएको छ।
नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरको आयोजनामा सञ्चालन भएको तालिमको उद्घाटन शुक्रबार गरिएको हो। मार्केट–लेड पार्टनरसिप फर रेजिलेन्ट एग्री–फुड सिस्टम्स इन तराई रिजन अफ नेपाल परियोजना अन्तर्गत सञ्चालन गरिएको तालिममा मकै उत्पादन तथा उत्पादनपछिको व्यवस्थापनमा प्रयोग हुने कृषि यन्त्रको सञ्चालन र प्रयोगबारे प्रशिक्षण दिइनेछ । तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कृषि अनुसन्धान निर्देशनालय, कोशी प्रदेश, तरहराका निर्देशक डा. राजेन्द्र दराई रहनुभएको थियो।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख डा. शिवकुमार झाले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिका प्रसाद उपाध्याय, राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम, तरहराका कार्यक्रम संयोजक डा. पवन झा, सिमिट नेपालका प्रतिनिधि तथा सर्लाही , मोरङ, सुनसरी झापा लगायत तराईका विभिन्न जिल्लाबाट २४ जना सहभागी प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो। तालिममा कृषि यन्त्रको सञ्चालन, प्रयोग तथा व्यवस्थापनसम्बन्धी सीप प्रदान गरिने आयोजकले जनाएको छ।
यसबाट कृषि यान्त्रिकीकरणलाई प्रवद्र्धन गर्दै उत्पादन लागत घटाउन, श्रमको प्रभावकारी उपयोग गर्न र कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। तालिममा विभिन्न जिल्लाबाट आएका कृषि यन्त्रका अपरेटर, कस्टम हायरिङ सेन्टर सिएचसी सञ्चालक, अगुवा किसान, उद्यमी, युवा, महिला तथा पुरुष किसानहरू सहभागी छन्। कार्यक्रमको सञ्चालन ई. गंगाराम भण्डारीले गर्नुभएको थियो।


