इटहरी । कोशी प्रदेशको पर्यटन क्षेत्रको दिगो विकास, प्रवद्र्धन तथा सम्भावित संकट व्यवस्थापनका लागि सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ । 

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटाले पर्यटन क्षेत्रको दिगो विकासका लागि स्थानीय समुदायको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। स्थानीय समुदायलाई पर्यटनसँग जोडेर सशक्त बनाउन सके आर्थिक विकासमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो। त्यस्तै, प्रमुख अतिथि कोशी प्रदेश योजना आयोगका सदस्य सचिव तोया प्रसाद खतिवडाले पर्यटकीय दृष्टिकोणले कोशी प्रदेश मुलुककै समृद्ध र उत्कृष्ट प्रदेश रहेको बताउनुभयो।

उहाँले प्रदेशको पर्यटन विकासका लागि योजना आयोगले गुरुयोजना तयार गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा नेपालका पर्यटन सरोकारवालाहरूका लागि तयार गरिएको पर्यटन विकास तथा संकट व्यवस्थापन निर्देशिकाबारे समेत जानकारी गराइएको थियो। निर्देशिकाले सरकारी निकाय, निजी क्षेत्र, पर्यटन, होटल, ट्राभल तथा ट्रेकिङ व्यवसायी र स्थानीय समुदायलाई लक्षित गरेको छ। यसमा पर्यटन विकासका सम्भावना पहिचान गर्नुका साथै प्राकृतिक विपद्, महामारी, दुर्घटना तथा अन्य आकस्मिक परिस्थितिमा अपनाउनुपर्ने सावधानी र व्यवस्थापनका उपाय समेटिएका छन्।

त्यस्तै, पर्यटन क्षेत्रमा आइपर्न सक्ने संकटको पूर्वतयारी, जोखिम न्यूनीकरण, आपत्कालीन उद्धार, सूचना सम्प्रेषण तथा संकटपछिको पुनःस्थापनालाई पनि निर्देशिकाले प्राथमिकता दिएको छ। पर्यटन क्षेत्रलाई सुरक्षित, व्यवस्थित, दिगो र प्रतिस्पर्धी बनाउन आवश्यक रणनीति तथा कार्यदिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।