इटहरी । संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा जारी प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित नाइन ए साइड महिला फुटबल प्रतियोगितामा फेदाप गाउँपालिका, पोक्लावाङ, तेह्रथुम र सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा प्रवेश गरेका छन्।

बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा रेवाहाङ फेयर फुटबल क्लब महिला टिम, धरानलाई टाइब्रेकरमा पराजित गर्दै तेह्रथुमले फाइनलमा स्थान बनाएको हो । आजको खेलमा  जिल्ला समन्वय समिति संखुवासभाकी सहसंयोजक बविता खत्री अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । खेलको छैटौँ मिनेटमा धरानकी जर्सी नम्बर २३ की रामकुमारी विकले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। तर, खेलको ४७ औँ मिनेटमा तेह्रथुमकी जर्सी नम्बर ८ की रेन्जु राईले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याइन्। निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा तेह्रथुमले जित निकाल्दै फाइनल यात्रा तय ग¥यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी तेह्रथुमकी रेन्जु राई ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। त्यस्तै, दोस्रो सेमिफाइनलमा पद्मा स्पोट्र्स क्लब, ओखलढुङ्गालाई टाइब्रेकरमा पराजित गर्दै सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा पुगेको छ।

निर्धारित खेलमा ललितपुरकी जर्सी नम्बर ९ की सजना स्याङ्ताङले ३९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। ओखलढुङ्गाकी जर्सी नम्बर १३ की सुक्रीय मगरले गोल गर्दै खेललाई बराबरीमा पु¥याइन्। निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा ललितपुर विजयी बन्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी ललितपुरकी गोलरक्षक जर्सी नम्बर २२ की अस्मिता नेपाली ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। 

अब उपाधिका लागि फेदाप गाउँपालिका, पोक्लावाङ, तेह्रथुम र सातदोबाटो युथ क्लब, ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल शुक्रबार दिउँसो २ बजे  हुनेछ । स्वर्गीय मानबहादुर जिमी ‘मझिया’को स्मृतिमा आयोजित प्रतियोगिता मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा हाङ्थुम क्लबको सह–आयोजनामा सञ्चालन भइरहेको छ। प्रतियोगितामा आठ टोली सहभागी छन्। प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले २१ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।