इटहरी । श्रम तथा रोजगार कार्यालय विराटनगरले इटहरीका विभिन्न म्यानपावर कम्पनीमा अनुगमनलाई तीव्र बनाएको छ।
अनुगमनका क्रममा शंकास्पद कागजात, फाइल तथा कम्प्युटर सेट नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ। पछिल्लो समय इजाजतपत्रबिना कारोबार गर्ने, वैदेशिक रोजगारीमा पठाउने नाममा तोकिएभन्दा बढी रकम असुल्ने तथा सेवाग्राहीको राहदानी कार्यालयमै राख्नेजस्ता गुनासा आउने गरेको उहाँले जानकारी दिनुभयो। यसैबीच, बुधबार वरिष्ठ श्रम अधिकृत निरजकुमार देवको नेतृत्वमा गएको टोलीले इटहरीका विभिन्न म्यानपावर कम्पनीमा पुनः अनुगमन गरेको छ। अनुगमनका क्रममा केही कम्पनीबाट शंकास्पद कागजात, फाइल तथा कम्प्युटर सेटलगायत सामग्री नियन्त्रणमा लिइएको वरिष्ठ श्रम अधिकृत देवले बताउनुभयो।
अनुगमन टोली आएको जानकारी पाएपछि केही म्यानपावर कम्पनी सञ्चालकले कार्यालयमा ताला लगाएर बाहिरिएको समेत पाइएको थियो। त्यसपछि टोलीले सम्बन्धित कार्यालय खोल्न लगाई आवश्यक कागजात नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो। अनुगमनका क्रममा शंकास्पद कागजात फेला परेका केही म्यानपावर कम्पनीलाई तीन दिनभित्र सम्पूर्ण आवश्यक कागजातसहित श्रम तथा रोजगार कार्यालयमा उपस्थित हुन पत्राचार गरिएको छ। वरिष्ठ श्रम अधिकृत देवका अनुसार नियन्त्रणमा लिइएका कागजात तथा सामग्रीको अध्ययन र आवश्यक छानबिनपछि थप प्रक्रिया अघि बढाइनेछ।
उहाँले आफ्नो कार्यक्षेत्रमा पर्ने सबै रोजगारदाता तथा म्यानपावर कम्पनीमा अनुगमन अभियानलाई तीव्रताका साथ अघि बढाइने बताउनुभयो। यता, सेवाग्राहीहरूले वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा अनियमितता नियन्त्रण गर्न म्यानपावर कम्पनीमा मात्रै नभई अन्य निजी कार्यालयहरूमा समेत नियमित अनुगमन गर्नुपर्ने माग गरेका छन्। श्रम कार्यालयको अनुगमनले वैदेशिक रोजगारीका नाममा हुने सम्भावित ठगी तथा अनियमितता नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


