इटहरी । व्यवस्थित डम्पिङ साइटको अभावमा धरान उपमहानगरपालिकाले सेउती खोला किनारको जङ्गलमा थुपार्दै आएको फोहोरको डङ्गुरमा फेरि आगलागी भएको छ ।
मङ्गलबार रातिदेखि लागेको आगोका कारण निस्किएको बाक्लो धुवाँ कोसी राजमार्गसम्म फैलिँदा सवारीसाधनका यात्रु, स्थानीय बासिन्दा तथा सर्वसाधारण घन्टौँ प्रभावित भएका छन्। आगो नियन्त्रणमा आए पनि भित्री भागमा आगो सल्कीरहने समस्याले वायु प्रदूषण उच्च बनेको छ । धरानमा दैनिक ३० देखि ४० टन फोहोर सङ्कलन हुने गरेको छ। तर, फोहोरमा प्लास्टिकको मात्रा बढेर २५ प्रतिशत पुग्नु र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका क्षेत्रबाट आउने स्वास्थ्यजन्य फोहोर तथा सिरिन्जहरू सामान्य फोहोरमै मिसाएर फालिँदा सरसफाइ कर्मचारीको स्वास्थ्य सुरक्षामा गम्भीर जोखिम थपिएको छ ।
यसरी खुला रूपमा फोहोर थुपार्दा वर्षायाममा सेउती खोलामा आउने बाढीले प्लास्टिक र सुईहरू बगाएर रामधुनी नगरपालिकाका किसानका खेतबारी सम्म पुर्याउने गरेको छ। फोहोरको यो दीर्घकालीन समस्या समाधान गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विश्व बैङ्कको अनुदानमा करिब ७ करोड रुपैयाँ लागतमा धरान–६ पानबारीमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्र हाल पूर्ण रूपमा बन्द छ। जैविक फोहोरबाट बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य राखिएको उक्त ‘वेस्ट टु इनर्जी’ परियोजना सञ्चालन गर्ने जिम्मा पाएको ‘बेस्ट भेञ्चर’ कम्पनीका सञ्चालकहरू सम्पर्कविहीन भएपछि केन्द्र ठप्प भएको हो। उपमहानगरपालिका र उक्त कम्पनीबीच २० वर्षे सम्झौता भए पनि सञ्चालकहरू सम्पर्कमा नआएको कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले बताउनुभयो । उहाँले सम्पर्कमा नआएका सञ्चालकहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने र बन्द केन्द्र पुनः सञ्चालनमा ल्याउने पहल भइरहेको जानकारी दिनुभएको छ ।
यता, फोहोर व्यवस्थापनका लागि दीर्घकालीन ल्याण्डफिल साइट निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को प्रक्रिया पूरा नहुँदा कार्यान्वयन रोकिएको छ । प्रशोधन केन्द्र सञ्चालन र स्रोतमै फोहोर वर्गीकरण नभएसम्म धरानको फोहोर व्यवस्थापन तथा वातावरणीय प्रदूषणको समस्या उस्तै रहने देखिन्छ ।


