भोजपुर । अरुण गाउँपालिका वडा नं.५ याकुमा गम्भीर अवस्थामा उपचाररत स्थानीय युवा सुवास राईको उपचारका लागि संकलन गरिएको आर्थिक सहयोग रकम एक कार्यक्रमबीच परिवारलाई हस्तान्तरण गरिएको छ। सुवास राई बचाउ अभियान तथा आर्थिक सहयोग संकलन समितिले कुल २८ लाख ७१ हजार २५३ रुपैयाँ ४७ पैसा सुवास राईकी श्रीमती सुस्मिता राईलाई हस्तान्तरण गरेको हो।
मिति २०८२-०८- १२ गते वडा नं. ५ का वडा अध्यक्ष युवराज ढकालको अध्यक्षतामा सम्पन्न बैठकमा समाजसेवी, विभिन्न कार्यालयका कर्मचारी तथा आफन्तजनको उपस्थितिमा सर्वसम्मत रूपमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको थियो। पारिवारिक आर्थिक अवस्था कमजोर भई उपचारमा कठिनाइ आएपछि स्थानीयस्तरमै सहयोग संकलन गर्ने निर्णय गरिएको थियो।
अरुण गाउँपालिका वडा नं.५ अन्तर्गत साविक याकु गाविस वडा नं.९ जिमिगाउँ निवासी पृथ्वीबहादुर राईका नाती तथा मोतिलाल राईका छोरा ३८ वर्षीय सुवास राई गत कात्तिक २७ गते काम गर्ने क्रममा आकस्मिक दुर्घटनामा परेका थिए। दुर्घटनामा परि टाउकोमा गम्भीर चोट लागेपछि उनको अवस्था नाजुक बनेको थियो भने हाल क्रमिक रूपमा स्वास्थ्यमा सुधार हुँदै आएको जनाइएको छ।
हाल सुवास राईको उपचार विराटनगर स्थित आर्या न्युरो अस्पतालमा भइरहेको छ। चिकित्सकका अनुसार शल्यक्रिया तथा औषधोपचारका लागि न्यूनतम ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।


