विराटचौक । मोरङको सुन्दरहरैँचास्थित इन्द्रपुर जेसीजको २४औँ तथा इन्द्रपुर जुनियर जेसीजको ८औँ पदस्थापन समारोह सम्पन्न भएको छ । कार्यक्रम बिहीबार विराटचोकस्थित नेपालीरिका होटलमा आयोजना गरिएको थियो ।
पदस्थापन समारोहमा इन्द्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष आकाश दुलालले वर्ष २०२६ का अध्यक्ष समीर बस्नेतलाई चेनसहित पदभार हस्तान्तरण गर्नुभयो । त्यसैगरी, इन्द्रपुर जुनियर जेसीज वर्ष २०२५ का अध्यक्ष आयुश अधिकारीले वर्ष २०२६ का अध्यक्ष रेजिना आचार्यलाई पदभार हस्तान्तरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र कुमार राई रहनुभएको थियो । विशिष्ट अतिथिमा पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलाल सहभागी रहनुभएको थियो ।
प्रमुख अतिथि राईले इन्द्रपुर जेसीजले विपन्न समुदायका लागि निर्माण गरेका घरहरूको प्रशंसा गर्दै सरकारको काम जस्तै सामाजिक उत्तरदायित्व जेसीजले उदाहरणीय रूपमा पूरा गरेको बताउनुभयो । उहाँले आगामी दिनमा प्रदेश सरकार पनि सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
इन्द्रपुर जेसीज वर्ष २०२६ का अध्यक्ष समीर बस्नेतले आफ्नो कार्यकालमा केही वर्षदेखि सञ्चालन हुन नसकेका क्युज कार्यक्रम पुनः सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, नेतृत्व तथा व्यक्तित्व विकासमा सहयोग पुग्ने गतिविधिलाई प्राथमिकतामा राख्दै जेसीजको आस्था र विश्वासअनुसार काम गर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न व्यक्तिद्वारा स्थापना गरिएका पुरस्कारमार्फत समाजमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । पूर्व अध्यक्ष नारायण कार्कीले स्थापना गर्नुभएको नरदेवी अवार्ड जेसी जेनिस ढकाललाई प्रदान गरिएको थियो । पूर्व अध्यक्ष शिवप्रसाद ढकाल, शारदाप्रसाद ढकाल तथा यज्ञप्रसाद ढकालले स्थापना गर्नुभएको कृष्ण–विन्दा आउटस्ट्यान्डिङ अवार्ड सचिव सुमन भट्टराईलाई प्रदान गरिएको थियो । पूर्व अध्यक्ष हेमचन्द्र घिमिरेले स्थापना गर्नुभएको शिवप्रसाद घिमिरे स्मृति अवार्ड सुकुना माध्यमिक विद्यालय कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने एल्सन बस्नेतलाई प्रदान गरिएको छ ।
त्यस्तै, रमेश खड्काले स्थापना गर्नुभएको डी–रत्न स्मृति अवार्ड निजी क्षेत्रमा भेन्टिलेटरसहित एम्बुलेन्स सञ्चालन गर्दै आउनुभएका चालक घनश्याम कुवरलाई प्रदान गरिएको थियो । रामकृष्ण खड्काले स्थापना गर्नुभएको मातृका खड्का स्मृति छात्रवृत्ति पुरस्कार शिक्षा निकेतन माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत अरूणा मन्जरालाई प्रदान गरिएको छ । पूर्व अध्यक्ष रोहितकुमार शाहले स्थापना गर्नुभएको रामप्रसाद शाहु उत्कृष्ट जुनियर जेसी पुरस्कार साधना भट्टराईलाई प्रदान गरिएको छ । त्यसैगरी, रञ्जु–नगेन्द्र सुवेदी उत्कृष्ट जुनियर जेसीज अवार्ड प्रसन्न आचार्यलाई प्रदान गरिएको थियो । १२ महिनामा प्रत्येक महिना उत्कृष्ट कार्य गर्ने जुनियर जेसीज सदस्यहरूलाई पनि अवार्ड प्रदान गरिएको थियो ।
यसैबीच फर्स्ट लेडी क्लबमा गोमा अधिकारी चयन हुनुभएको छ भने बोर्ड अफ ट्रस्टीजमा यज्ञप्रसाद ढकाल चयन हुनुभएको छ ।


