काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छाप्ने कार्य धमाधम भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । आयोगले नेपाली सेनाको सुरक्षा घेराभित्र छपाइ गरिरहेको छ ।
निर्वाचन आयोगले अहिलेसम्मः समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइको काम सकेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार अब समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । समानुपातिकतर्फको मतपत्र छपाइ सकिएसँगै प्रत्यक्षतर्फको छपाइ सुरु भएको छ ।
आयोगले फागुन ५ गतेभित्र सम्बन्धित स्थानमा मतपत्र पुर्याउने लक्ष्य राखेको छ। सम्बन्धित स्थानमा मतपत्र पुगिसकेपछि मतदान अधिकृतहरूले कानुन बमोजिम मतदानको दिनमात्र सिल गरिएको मतपत्र खोल्न पाउने व्यवस्था छ । उच्च सुरक्षा प्रबन्धका साथ मतपत्र ढुवानी हुने आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फको मतपत्र १५ दिनमा छपाइ सकिने भण्डारीको भनाइ छ । प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको र समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

