इटहरी ।  झापाको कमल गाउँपालिका–६ स्थित रतुवा खोलाको किनारमा रहेको खयरबारी टोल कुनै समय बाढीको स्थायी त्रासमा बाँचिरहेको बस्ती थियो ।

अघिल्लो दशकसम्म वर्षायाम लाग्नेबित्तिकै यहाँका बासिन्दाको रात निद्रामा बित्दैनथ्यो । स्थानीयका अनुसार रतुवाको बाढीले पटक–पटक खेतीयोग्य जमिन बगाएको छ, घरगोठ भत्काएको छ र कतिपय परिवार विस्थापित हुन बाध्य भएका छन् । यही कारण खयरबारीलाई  ‘बाढीको छायाँमा रहेको बस्ती’ भनेर चिनिन्थ्यो । तर समयसँगै यहाँको अवस्थामा कायापलट भएको छ । रतुवा खोलामा मजबुत बाँध निर्माण भएपछि गाउँमा बाढी पस्ने क्रम पूर्णरूपमा रोकिएको स्थानीय टङ्कप्रसाद सापकोटाले बताउनुभयो । यससँगै खयरबारी टोलसम्म कालोपत्रे सडक पुगेपछि जनजीवन झन सहज बनेको छ । केही वर्षअघिसम्म हिउँदमा धुलाम्यै र वर्षायाममा हिलाम्यै हुने बाटो अहिले कालोपत्रे भएपछि सिटी सफारी र अटो रिक्सा समेत चल्न थालेका छन् ।

स्थानीय दीपक आचार्यका अनुसार, बाटो पिच भएपछि हिँडडुल मात्र होइन, कामकाज र आम्दानीका अवसर पनि बढेका छन् ।सडक, विद्युत् र बाँधजस्ता पूर्वाधार विकासले यहाँको कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पारेको छ । किसानले उत्पादन गरेका तरकारी, धान, मकै लगायतका उपज नजिकैको ठुलो बजार दमकसम्म सहजै पुर्‍याउन सजिलो भएको छ । ढुवानी खर्च घट्नुका साथै  समय बचत भएको  र किसानले उचित मूल्य पाउन थालेका छन् । यसले स्थानीयको आर्थिक अवस्था क्रमशः सुदृढ हुँदैगएको देखिन्छ। उपचार, शिक्षा, दैनिक उपभोग्य वस्तुको खरिददेखि अन्य सेवा सुविधाका लागि पनि अब खयरबारीका बासिन्दालाई ठुलो समस्या छैन ।

सडक र यातायात सहज भएपछि अस्पताल, विद्यालय र बजारसम्मको पहुँच सजिलो बनेको छ । स्थानीयका अनुसार यी अधिकांश विकासका काम यहाँबाट निर्वाचित हुँदै आएका प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीको पहलमा सम्भव भएका हुन् । अहिले खयरबारी बाढीको भयबाट मुक्त, विकासको बाटोमा अघि बढिरहेको एउटा उदाहरणीय बस्ती बनेको छ। पूर्वाधार विकासले कसरी जनजीवन, दैनिकी र आर्थिक सम्भावनालाई रूपान्तरण गर्न सक्छ भन्ने कुरा खयरबारीले स्पष्ट रूपमा देखाएको छ ।