इटहरी । पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र भनेर चिनिने इलाम क्षेत्र नम्बर १ मा अहिले चुनावी माहोल निकै बढेको छ । 

विगतमा नेकपा ९एमाले० ले विजय हासिल गर्दै आएको इलाम–१ मा यस पटक कसले बाजी मार्ला त्यो त निर्वाचनको मतपरिणाम पर्खनै पर्छ । यतिबेला इलाम–१ मा चुनावी गतिविधि बढेको छ । १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा रहेको यो क्षेत्रमा अन्ततः मुख्य प्रतिस्पर्धा भने ठुला दल नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीबिच नै हुने निश्चित जस्तै छ । स्थानीय निर्वाचन जितेका पालिकाका आधारमा र अघिल्ला प्रतिनिधि सभा निर्वाचनको मतपरिणामको आधारलाई हेर्ने हो भने पनि यस पटक देखिएका नयाँ दलभन्दा पुराना दलकै मतदाता सङ्ख्या बढी भएको अनुमान गर्न सकिन्छ । नयाँ दल आए पनि यो क्षेत्रमा पुरानै दलको चुनावी गतिविधि बढी छ । त्यसो त  इलाम–१, इलाम–२ को तुलनामा भौतिक पूर्वाधार अन्य विकास निर्माणमा निकै सुविधासम्पन्न मानिन्छ ।

चिया, दुध उत्पादन, छुर्पी, चिज, ललिपप जस्ता दुधजन्य पदार्थको उत्पादन, आलु, अदुवा, अम्लिसो, अकबरेलगायतका तरकारी उत्पादनको क्षेत्रमा अग्रणी  मानिने इलाम क्षेत्र नम्बर १ पर्यटकीय हिसाबले पनि महìवपूर्ण छ । यस पटकको चुनावी मैदानमा हुने प्रायः सबै जसो उम्मेदवारको मुख्य मुद्दा पनि इलाम–१ को कृषि उत्पादन, किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य र पर्यटन पूर्वाधार तथा पर्यटन क्षेत्रको विकास नै प्रमुख रहेको पाइन्छ । यस पटक इलाम–१ का लागि सबै जसो उम्मेदवार पनि प्रानिनिधि सभाका लागि नयाँ अनुहार नै रहेका छन् । यसअघि क्षेत्र–१ मा ठुलो दल मानिएको नेकपा ९एमाले० ले उठाएका उम्मेदवार काजीमान कागते चिया किसानका क्षेत्रबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।

एक पटक कोशी प्रदेश सभा सदस्य भएका कागतेको मुख्य मुद्दा किसान र श्रमिकका आर्थिक धरातल राम्रो बनाउनु, पर्यटन क्षेत्रको विकास गर्नु र पूरा नभएका पूर्वाधारका कामलाई पूर्णता दिनुु नै रहेको छ । कागतेले आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य र किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणका लागि पनि आफू पहिलादेखि लागिरहेको बताउनुभयो । प्रतिनिधि सभाका लागि अर्को नयाँ उम्मेदवार नेपाली कांग्रेसका निश्चल राई पनि क्षेत्र नम्बर–१ को पूर्वाधार विकास, पर्यटन, शिक्षा स्वास्थ्यकै मुख्य मुद्दा राखेर मतदातामाझ मत माग्न व्यस्त हुनुहुन्छ । २०४८ सालयताका निर्वाचनमध्ये २०५१ सालको निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंले एक पटक जितेको कांग्रेसले यस पटक राईलाई नयाँ अनुहार र युवा पुस्ताका प्रतिनिधिका रूपमा अघि सारेको छ ।

राईले अघिल्ला विजयी प्रतिनिधिले भन्दा बढी काम गर्ने मतदातामाझ प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ । यस पटक एमाले र कांग्रेस सँगै प्रतिस्पर्धामा देखिएका नेपाली कम्युनिस्ट पाटीका उम्मेदवार रणबहादुर राई इलाम–१ बाट प्रतिनिधि सभा सदस्यका लागि नयाँ अनुहार हो । सूर्योदय नगरपालिकाको दुई पटक प्रमुख भएका राई पछिल्लो पटक नगरप्रमुखबाट राजीनामा दिएर निर्वाचनमा होमिनुभएको हो । सूर्योदय नगरपालिकालाई जिल्लाका अन्य पालिकाभन्दा विकासमा समृद्ध गराउने राई सूर्योदयभरि निकै चर्चित मानिनुहुन्छ । प्रतिनिधि सभामा जितेपछि पनि इलाम–१ का लागि विकासको फरक मोडल लागु गर्न र यहाँका नागरिकको आर्थिक समृद्धिका लागि काम गर्न आफू तयार रहेको राई बताउनुहुन्छ ।

अघिल्लो निर्वाचनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पछि पार्दै नेकपा (एमाले) का महेश बस्नेतले २५ हजार ७५३ मत ल्याएर विजयी हुनुभएको थियो । पूर्वप्रधानमन्त्री खनालले २३ हजार ८९ मत प्राप्त गर्नुभएको थियो । यस पटक राईलाई खनालकै उत्तराधिकारीका रूपमा इलाम–१ मा हेरिएको छ । धेरै वटा दल गाभिएर बनेको नेपाली कम्युनिस्ट पार्टी भएकाले पनि राई चुनावी प्रतिस्पर्धामा वजनदार मानिनुहुन्छ  । यता एमालेका काजीमान कागतेका लागि माई नगरपालिका र माईजोगमाई गाउँपालिकाको मत बलियो मानिएको छ । यस पटक इलाम–१ मा  एमालेका काजीमान, नेपाली कांग्रेसका निश्कल, नेपाली कम्युुनिस्ट पार्टीका रणबहादुुर राईसहित १३ जना चुनावी मैदानमा रहनुभएको छ ।