इटहरी । सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।
पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँलाई शनिबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सिर्जना थपलियाले जानकारी दिनुभयो । अति अशक्त अवस्थाकी बानियाँले सम्पूर्ण कागजातसहित जिल्ला प्रशासन कार्यालयमा गत पुस १९ गते निवेदन दिनुभएको थियो। प्राप्त कागजातका आधारमा बानियाँलाई नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रजिअ थपलियाले बताउनुभयो ।
यसैबिच शनिबार यहाँ जिल्ला सुरक्षा समितिले मतदानस्थल निरीक्षण गर्नुका साथै स्थानीय तहसँग निर्वाचन तयारी, आचारसंहिता पालनालगायत विषयमा अन्तरक्रिया गरेको छ । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै मतदान केन्द्र तथा मतदानस्थल अनुगमन र समन्वयको कामलाई तीव्रता दिइएको प्रजिअ थपलियाले बताउनुभयो । जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् भने कुल मतदाता एक लाख १९ हजार ६३० रहेका छन् । जिल्लामा अति संवेदनशील आठ, संवेदनशील ८२ र सामान्य १९ वटा मतदानस्थल रहेका छन् ।


