इटहरी । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं। ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित भएकाले यसलाई विशेष प्राथमिकतामा राखेर सुरक्षा बन्दोबस्त मिलाइएको र निष्पक्ष तथा भयरहित अवस्था सुनिश्चितता गरिने बताइएको छ ।

निर्वाच अधिकृतको कार्यालय क्षेत्र नंं ५ दमकमा भएको सर्वपक्षिय छलफलमा निर्वाचन आचारसंहिता पालना नभएको गुनासो आएको बताउँदै यसलाई गम्भीर रुपमा लिएर आचारसंहिता पालना गर्न र गराउन लाग्ने प्रमुख निर्वाचन अधिकृतसहित सरोकारवालाहरुले प्रतिबद्धता पनि जनाएकाछन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले यसै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ । दुबै जनालाई पार्टीले प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ । नेपाली कांग्रेसबाट मन्धरा पौड्याल, नेकपाबाट रञ्जित तामाङ, राप्रपाबाट लक्ष्मि संग्रौला लगायतले पनि चुनावी अभियानलाई तीव्रता दिनुभएको छ ।

झापाका प्रमुख निर्वाचन अधिकृत उमेरशप्रसाद लुँइटेलले निर्वाचनको कार्यक्रम सार्वजनिक भएर निर्वाचन अधिकृतको कार्यालय बसेपछि ३ पटक राजनीतिक दलका प्रतिनिधिहरुसँग तथा सर्वपक्षिय छलफल भइसकेको बताउनुभयो । झापामा अन्य क्षेत्रहरुका कारबाही सुरु भइसकेको र आचारसंहिता पालना गराउन सचेत गराइएको लामिछानेले जनाउनुभयो । झापामा राजनीतिक दलहरुले तडकभडकसहित घरदैलो अभियान गर्दै आएका छन् । ठाँउठाँउमा प्रचार सामग्रीहरु राख्ने कार्य पनि भएको भन्दै छलफलमा सहभागिहरुले आपत्ती जनाएका थिए । यसैगरी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आचारसंहिता पालना गर्न आग्रह गर्दै यो राजनीतिक दल र उम्मेदवारहरुका लागि नै भएको बताउनुभयो ।

आचारसंहिता अनुगमन अधिकृतहरुद्वारा आचारसंहिता पालना भए नभएको विषयमा अनुगमन भइरहेको र त्यस आधारमा अघि बढ्ने उहाँले उल्लेख गर्नुभयो । झापा ५ लाई विशेष चासोका साथ हेरिएको जनाउदै सबैको साथले मात्र निर्वाचन स्वच्छ र भयरहित बन्ने उहाँले जनाउनुभयो । नेकपा एमालेका नेता रोमनाथ ओली, संविधान सभा सदस्य दिपक कार्की, नेपाली कांग्रेसका प्रेम भट्टराई, नेकपाका तिर्थराज बस्नेत, राप्रपाका टंकप्रसाद पाठक लगायतले आचारसंहिता कसैलाई लाग्ने र कसैलाई नलाग्ने हुनेजस्तो अवस्था देखिएको भन्दै सरोरकारवालाहरुको ध्यानकर्षण गराएका थिए ।